मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरमा गठबन्धन सफल देखिएन : गठबन्धनका उम्मेदवार पाँचौँ , स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै



मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

उनिभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहेका छन् ।

गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सातवटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव ९देवु०, वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी भएका छन् । अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ३५ बजे