मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषाका १० पालिकामा कांग्रेस, तीनमा जसपा, दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी



गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।ती मध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।

जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि सोही पार्टीका फूलकुमारी यादव विजयी भए ।

औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएको छ । धनौजी गाउँपालिकामा अध्यक्षमा कांग्रेसका राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् । त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भए भने उपाध्यक्षमा कांग्रेसका कमला सहगल निर्वाचित भइन् ।

विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भए भने उपप्रमुखमा पनि सोही पार्टीका आशा झा निर्वाचित भइन् । धनुषाधाम नगरपालिको प्रमुखमा कांग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएका छन् ।

कमला नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएका छन् । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा कांग्रेसका सुनिताकुमारी सिंह विजयी भएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन् । बटेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार रामअशिष महतो र उपाध्यक्षमा सोही कांग्रेसकै फूलकुमारी सिंह निर्वाचित भएका छन् ।

मिथिला नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथोकि निर्वाचित भएका छन् । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भएका छन् ।

गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव र उपप्रमुख रहिमा खातुन निर्वाचित भएकि छीन् ।

हंसपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार प्रदीप यादव र उपप्रमुखमा कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकि छीन् । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित भएका छन् ।

धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राखेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ४४ बजे