काठमाडौँ उपत्यकामा अनलाइनबाट मतदाता नामावली दर्ता सुरु



निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगले उक्त कार्य नमूना परियोजनाका रुपमा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर आजदेखि सुरु गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट https://election.gov.np/ मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौँ उपत्यकाका तीन जिल्ला) मा अनलाइनबाटै पेश गर्न सकिनेछ ।

सोपश्चात् अनलाइन फाराममा उल्लिखित सङ्केत नंसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : असार २८, २०७९ मंगलबार  ८ : २७ बजे