काठमाडौँ। अरनब चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावका कारण कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा आगामी तीन दिनसम्म भारी वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।
मौसम–जलवायु विज्ञान कार्यालयका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सम्भावित वर्षाका कारण पहिरो, बाढी, लेदो तथा गेग्रान बहावजस्ता विपद्का घटना हुन सक्ने र हिमाली क्षेत्रमा भारी हिमपात तथा हिमपहिरोको जोखिमसमेत रहेकाले आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरिएको छ।
त्यसैगरी, यसै समयमा धानबाली भित्र्याउने तयारीमा रहेका किसानहरूलाई मौसमको अद्यावधिक सूचना लिएर मात्र कटाइ गर्न तथा काटिसकेको धानलाई वर्षाबाट जोगाउन सुरक्षित स्थानमा सुरक्षितसाथ भण्डारण गर्न विशेष सुझाव दिइएको छ।
मौसमसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको सूचना नियमित रूपमा लिन सकिनेछ।










