मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज चितवनमा कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको उनको भनाइ छ ।

नेता शशांकले भने, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा कांग्रेसले एकसय सिट पाउनु पर्ने उनको दाबी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले भने, “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई छ ।

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताए । उनले भने “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई छ । रासस

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ०० बजे