मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन



उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गरेका छन् । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो ।

लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुगेका उनलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गरेका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए ।

तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पु¥याइन्छ । उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गरेका थिए । सोही अवसरमा उनलाई नगर प्रमुख श्रेष्ठले भैरव नाचको तस्वीर र नाच गुरु अर्जुन श्रेष्ठले भैरवको मुखुण्डो प्रदान गरे ।

भैरव दुई, दायगी दुई, ज्यापुगचा एक गरी पाँच देवगण हुने नाच गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया ९गुंलागा द्वितीया०देखि चार रात यही साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुनले जानकारी दिए । पैतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहल र नगरपालिका तथा दाताहरूको सहयोगमा यहाँका युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने पुनः सञ्चालन गरिएको हो ।

भैलः दुई, दाःगिं दुई र ज्यापूंगःचा एक गरी पाँच देवगण सहभागी हुने नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाच्नुभएको छ । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुंगःचाले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको विभिन्न तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ०० बजे