मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन



जनकपुरधाम, ३० साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शन गरेको छ । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिराहाको गोलबजार सडक खण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेकी छन् । जसको विरोधमा जनमत पार्टीले मदेसका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौं,’ नेता साहले भने,‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपी रहेका छन् । तर, सात वर्षदेखि राज्यले नागरिकता विहीनहरूमाथि यातना थोपर्दै गएको छ ।’

नागरिकता विहीनलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे । ‘नेपाल सरकारले उनीहरूलाई नेपाली भनेर नागरिकता दिन सक्दैन भने उनीहरूलाई शरणार्थी घोषणा गरोस् । शरणार्थीको पहिचान लिएर भए पनि उहाँहरूले गुजारा गर्न सक्ने छन् । मुद्दा लड्न सक्ने छन्,’ नेता साहले भने,‘तर नेपाली पनि नमान्ने र जीवन जिउन पनि कठिन बनाउने यस्तो शासन चाहिँदैन ।’

नागरिकता विहीनलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसदबाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : १५ बजे