चीनया राष्ट्रिय जन कांग्रेस अध्यक्ष ली झान्शु भोलि नेपाल आउँदै



सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।

अध्यक्ष झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपाल औपचारिक भ्रमण गर्ने गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।


उनी सोमबार अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ। सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन्।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन्। यसैगरी, सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा। नारायण खड्काले उनीसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष झान्शु यही भदौ ३० गते बिहिबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ।

–––

प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार  २ : ५६ बजे