प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएकालाइ प्रदेशमा समानुपातिक सांसद नबनाउने कांग्रेसको निर्णय



काठमाडौं, २९ भदौ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो ।

गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए ।

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो ।

त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।

त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ । संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन् ।

आज बालुवाटारमा बसेको बैठकले अघिल्लोपटक समानुपातिकमा उठेकाहरूलाई यसपटक नदोहोर्‍याउने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले उमेदवार बनाउँदा जनजाति, महिला, लोकतन्त्रको आन्दोलनमा योगदान दिएकाहरूलाई प्राथमिकता दिने नीति लिएको छ ।

प्रत्यक्षमा चुनाव जित्नेलाई मात्र उठाउनेगरी मापदण्ड तय भएको उनले बताए ।

प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार  ७ : १४ बजे