काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए ।
“मेरो नेतृत्वमा बनेको वर्तमान सरकारले समग्रमा राम्रै उपलब्धि हासिल गरेको छ भन्ने महसुस गरेको छु । गणतन्त्र नेपालको संविधान जारी भएपश्चात् संघ, प्रदेश र स्थानीय तहको चुनाव समयमै गराउने अवसर प्राप्त भयो । यस महत्त्वपूर्ण कार्यमा सहयोगका लागि म गठबन्धनका दलहरूको भूमिकालाई स्मरण गर्न चाहन्छु,” उनले भने,
उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए ।
सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए ।










