मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेङ्गुको जोखिम कायमै



कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेंङ्गुुका बिरामी छन् ।

जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेंङ्गुुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार जना छन् ।

लम्किचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए ।

गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेंङ्गुुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेंङ्गुुका बिरामी शून्य रहेको जनाइएको छ ।

जिल्लामा डेंङ्गुुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका –१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्मा उल्लेखित छ ।

असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ ।


कैलालीमा डेंङ्गुुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंङ्गु नियन्त्रणको उपाय रहेको उहाँले बताउनुभयो । डेंङ्गुु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ ।

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंङ्गु लामखुट्टको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो । यो एडिस एजप्टाई÷एलबोपिक्टस जातको सङ्क्रमित लामखुट्टको टोकाइबाट मात्रै यो रोग सर्दछ । यो लामखुट्टेलाई टाइगर मसकुइटो पनि भनिन्छ ।

डेंङ्गुु नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान
सञ्चालन गर्न आग्रह

धनगढी उपमहानगरापालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गुको सङ्क्रमण पुनः फैलिन सक्ने भन्दै लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असोज मसान्ततिर लगातार परेको पानीका कारणले गर्दा केही न्यून भएको डेंङ्ग ुरोगको सङ्क्रमण पुनः फैलिनसक्ने खतरा बढेकोले लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।

घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान परिचान गरी डेंङ्गु रोग गराउने लामखुट्टेका लार्भा खाज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न धनगढी उपमहानगरपालिकाभित्रका १९ वटै वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई आग्रह गरिएको छ ।

अभियानमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, आमा समूह, वडा क्लब परिचालन गरी सञ्चालन गर्न पनि भनिएको छ । एक उपमहानगरपालिकाले यसअघि पनि धनगढीका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकासहित वडाका टोलटोलमा डेंङ्गुुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ५४ बजे