रूपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ।
यसअघि न्यायाधीशद्वय सुष्मलता र कुमार रेग्मीको संयुक्त इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइने भएको थियो।
आजको पेसी सूचीको पहिलो नम्बरमा परेको छ।
बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत कार्यालयले गुरूङको मनोनयन खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय बदर गर्न माग गर्दै गुरूङले सर्वोच्चमा रिट दायर गरेका थिए।
आफूलाई गरिएको जरिवाना तिरेको, चेक अनादार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचन कार्यालयले आफूलाई सुनुवाइको मौकासमेत नदिई उम्मेदवारी खारेज गर्ने निर्णय नमिलेको भन्दै गुरूङ सर्वोच्च अदालत गएका थिए।










