नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताए ।
अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उनले भने,“त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ , त्योसँग हाम्रो बहस भइरहेको छ ।”
देशमा सात सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उनले भने,“यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”










