मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेस्रो पटकमा जित्ने दाउमा जीत शेरचन



दुई–दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिएका छन् । वाम गठबन्धनको एक्लै सामना गरेका शेरचनले विस २०७४ र विस २०७६ को उपचुनावमा बागलुङ–२ (२) बाट हारेका थिए ।

ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा छन्, शेरचन ।

अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लद्धेका उनले यसपालि क्षेत्र (१) रोजेका छन् । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजिभएका थिए ।

घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याएका थिए । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराएका थिए ।

एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाएका थिए । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाएका थिए ।

आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : १० बजे