कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो : प्रधानमन्त्री देउवा



२३ कार्तिक २०७९, खलङ्गा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् ।

आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए ।

“कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भने, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उनले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाए ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भने, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।”

देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताए । उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको पनि बताए ।

पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताउदै। उनले भने, “झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु । पश्चिमसेती परियोजना अघि बढेको छ । पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।”

उहाँले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएकोलेगठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । एक अर्को प्रसङ्गमा उनले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ८ : ३४ बजे