मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरको वाग्मती नदीमा एक लाख माछाका भुरा छाडियो



प्राकृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ । हाल त्यहाँ माछाको कमी हुँदै गएको छ ।

मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।

सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो । कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानद्वारा संयुक्तरूपमा माछाका भुरा नदीमा छाडिएको हो ।

प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए । नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कूल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए । सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसङ्ख्या निर्भर रहेको यादवको भनाइ छ ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष घलानले वर्तमान समयमा खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग र कलकारखानाबाट फालिएको विभिन्न रसायनका कारण खोलानालामा माछाको सङ्ख्या घट्नुका साथै विभिन्न जातका माछा लोप भइरहकाले यस कार्यलाई सबैले मिलेर रोक्नुपर्ने आग्रह गरे । उक्त कार्यालयले यसअघि नारायणी नदीमा ४० हजार माछाका भुरा, मकवानपुरको सामरी नदीमा पनि ३४ हजार माछाको भुरा चालु आर्थिक वर्षमा छाडेको थियो ।

आर्थिक वर्ष २०७९र०८० को कार्यालयको कार्यतालिकाअनुसार कोसी, कर्णाली, सप्तकोसी र कालीगण्डकी नदीलगायतका नदीमा भुरा माछा छाड्ने कार्यक्रम रहेको प्रमुख यादवले भन्नुभयो । सो कार्यालयमा बजेट र जनशक्तिको अभावले काम गर्न समस्यासमेत रहेको त्यहाँका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ५९ बजे