३० कार्तिक २०७९,काठमाडौँ ।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्।
बुधबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए।
उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख्य गरेको बताए। ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको बेलामा मलाई जनताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’ उनले भने ‘मलाई के भन्नुभएको छ भने हामीले चुनेर पठाएर तपाई उपप्रधानमन्त्रीसम्म बन्नुभयो, हामी फेरि पनि चुन्छौँ, तपाई प्रधानमन्त्री हुनुपर्यो भनिरहेका छन्। अधिकांशले भनेका छन्।’
उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्नेकुरा पहिलो माग राखेको बताए। गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको उनले बताए। आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको उनको भनाइ छ।
उनले शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने पनि बताए। १६ रोपनी भन्दा बढी जग्गालाई अतिक्रमणबाट जोगाएर आफ्नो निर्वाचन क्षेत्रमा बालबालिकालाई पार्क साथै स्वास्थ्य सुधारका लागि सार्वजनिक पार्क निर्माण गरेको उनले दाबि गरे । यस्तै बृद्धाहरुलाई लक्षित गरेर जेष्ठ नागरिक भवन पनि बनाएको बताए । आफुले पुर्ण रुपमा कार्य गर्न नसके पनि आफुले नगरको समग्र क्षेत्रको विकाशमा कार्य गरेको उल्लेख गरे ।










