मंसिर १४, २०७९ । युक्रेनले देशमा शिशिर याम प्रारम्भ भएको बताउँदै उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० र उसका सहयोगी राष्ट्रलाई यथाशक्य चाँडो हतियार आपूर्ति गर्न आग्रह गरेको छ । रुसी आक्रमणबाट आहत युक्रेनले समग्र सहायताको प्रक्रियालाई द्रुत गतिमा टुङ्ग्याउन अनुरोध पनि गरेको छ ।
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले बुखारेस्टमा नाटोका विदेश मन्त्रीको जारी बैठकमा शीघ्र सहायता परिचालनका लागि आह्वान गर्दै क्षेप्यास्त्र आक्रमणबाट अवरुद्ध भएको देशको विद्युत् आपूर्ति प्रणाली तत्काल पुनःस्थापना गर्न अत्यावश्यक भएको बताए ।
त्यसका निम्ति पनि उनले नाटोको मद्दतका निम्ति अनुरोध गरेका अल जजीराले जनाएको छ । विदेशमन्त्री कुलेबाले आफ्नो देशको हवाई सुरक्षा प्रणालीलगायत पूर्वाधारको रक्षा गर्न बाह्य सहायता अपरिहार्य भएको बताएका थिए ।














