निर्वाचित हुने निश्चित भएसँगै बागमतीको मुख्यमन्त्रीमा कुन्दनको चर्चा



दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मत सहित निर्वाचित हुने निश्चित जस्तै भएको छ । यो समाचार तयार पार्दासम्म काफ्ले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ भन्दा छ हजार पाँचसय मतान्तरका साथ अगाडि छन् ।

दोलखाबाट काफ्लेको जित सुनिश्चित भएसँगै बागमती प्रदेशमा अव बन्ने प्रदेश सरकारमा काफ्लेको मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ । तर, दुवैजना केन्द्रमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्ेलेको पनि चर्चा हुन थालेका हुन् ।

कृष्ण सिटौला निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकठस्त मानिन्छ । सिटौला र महामन्त्री थापा दुवै जनाको साथमा काफ्ेले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।

अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् । केन्द्र सरकारमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापाहरुले प्रभाव जमाइरहँदा प्रदेशमा काफ्लेको चर्चा चुलिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यो समाचार तयार पार्दासम्मको तथ्यांकलाई आधार मान्ने हो भने काफ्ले करिव ७ हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित जस्तै देखिन्छ ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आइतबार  ११ : २० बजे