कमिसनको चक्करमा नौ वटा सिँचाइ आयोजना अलपत्र



सुर्खेत, ४ माघ । जाजरकोट भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजीरुपमा सम्पन्न भएको भएको पाँच महिना पुग्यो । तर, आयोजना पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना हाल अलपत्र छ ।

सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन् । निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ । आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन । पाँच सय मिटर पाइप स्टमेट भए पनि आयोजनामा कार्यालयले तीन सय मिटरमात्रै पाइप दिएको छ । सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो । आयोजनाको सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैले खरिद गरेको थियो ।

त्यस्तै, भेरी नगरपालिका–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ । १५ लाखको यो आयोजााको पाइप र सोलहरू यत्रतत्र छरिएका छन् । आयोजनाको सोलार सिस्टमनै चल्दैन । यो आयोजनाको पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले आफैले खरिद गरेको थियो । तर, आयोजनाले स्टेमटअनुसार पाइप पाएन । पाइप अपुग भएकै कारण नदीदेखि पोखरीसम्म पानी पुगेको छैन ।

भेरी नगरपालिका १२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ । १० लाखको यो आयोजनाले न स्टमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । पाँच सय ८० मिटर पाइप स्टमेट गरिएको आयोजनाले तीन सय मिटरमात्र पाइप पाएको छ ।

यो आयोजनाको त पोखरीसमेत निर्माण नगरिएको छैन । सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो । तर नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन । आयोजनाको सोलार सिस्टमपनि चल्दैनन् । खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन् ।

भेरी नगरपालिका–१३ स्थित बिस्नेचौरमा लिफ्ट सिँचाइ योजनाको अवस्था पनि हरिबिजाग छ । १५ लाखको यो आयोजनाबाट ३५ घरधुरी लाभान्वित हुने लक्ष्य थियो । दुर्भाग्य, निर्माण सम्पन्न नभएकै कारण किसानले लाभ पाउन सकेका छैनन् ।

उल्लेखित आयोजना मात्रै होइन । गत आर्थिक वर्षमा कृषि विकास कार्यालयबाट सञ्चालन भएका नौ वटा सिँचाइ आयोजनाहरू अहिले पनि अलपत्र परेका छन् । आयोजना कागजमा सम्पन्न भएपनि सञ्चालनमा ल्याउन सकिएको छैन । तर, सबै आयोजनको रकम भुक्तानी भइसकेको छ । कमिसनको चक्करले कुनै पनि आयोजनाको पूर्ण निर्माण सम्पन्न भएनन् । सबै आयोजनाले स्टमेटअनुसार पाइप पाएका छैनन् । आयोजना सञ्चालनमा आउन नसकेपछि पाइप, सोलार र पानी तान्ने मोटरहरू अलपत्र छन् । तर, लिफ्ट सिँचाइ आयोजनाको नाममा एक करोड ३५ लाख रकम स्वाहा भइसकेको छ । आर्थिक वर्ष २०७८र०७९ मा दशवटा सिँचाइ योजनाहरू निर्माण थालिएका हुन् । कागजी रुपमा निर्माण सम्पन्न गराएर कार्यालयले एक करोड ३३ लाख रकम भुक्तानी दिइसकेको छ ।

प्रकाशित मिति : माघ ४, २०७९ बुधबार  २ : ३५ बजे