बेइजिङ, २ फागुन । इरानका राष्ट्रपति इब्राहिम रायसी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तीनदिने राजकीय भ्रमणमा आज चिन पुगेको छ । विदेश, अर्थ, सडक तथा यातायता, ऊर्जा, उद्योग, खानी तथा व्यापार, कृषिमन्त्री, केन्द्रीय ब्याङ्कका प्रमुखसहित उच्च अधिकारी उहाँको प्रतिनिधिमण्डलमा हुनुहुन्छ ।
इरानी राष्ट्रपतिले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग ग्रेट हल अफ द पिपलमा भेटवार्ता गर्ने तथा पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बीस वर्षपछि इरानी राष्ट्रपति चीनको भ्रमणमा छन् । दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुने इरानी समाचार समिति इर्नाले जनाएको छ ।
सुदृढ एवम् सुमधुर सम्बन्ध कायम गरेका चीन र इरानले सन् २०२१ मा ऊर्जा, पारवहन, कृषि, व्यापार तथा लगानीका क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्न २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।
करिब एक वर्षअघि शुरु भएको युक्रेन युद्धलाई लिएर चीन र इरानले पश्चिमा राष्ट्रको दबाब झेलिरहेका छन् भने अमेरिकाले तेहरानको आणविक कार्यक्रमलाई लिएर नाकाबन्दी लगाएको छ । रुसको सहयोगीका रुपमा इरान उभिएकाले उसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याउने प्रयास गरिरहेका छ ।
अमेरिकालगायत पश्चिमा राष्ट्रले युक्रेन युद्धमा सघाउन तेहरानले मस्कोलाई ड्रोन उपलव्ध गराएको आरोप लगाएका छन्भने इरानले त्यसलाई आधारहीन भन्दै खण्डन गरेको छ । इरान र रुसबीचको समीपता, हतियार सहयोगलगायत मामिलालाई लिएर हालै अमेरिकाले इरानको आलोचना गर्दै नयाँ प्रतिबन्ध लगाएको छ ।
युक्रेन युद्ध चीनका निम्ति पनि प्रतिष्ठा र संवेदनशील मुद्दा बनेको छ । आफ्नो रणनीतिक साझेदार मस्कोलाई कूटनीतिक समर्थन गर्दा बेइजिङ पनि अमेरिकासहित पश्चिमा देशको आलोचनाको पात्र बनेको छ । चीन र अमेरिकाबीचको विगतदेखिको तिक्ततापूर्ण सम्बन्ध सुमधुर बन्न सकेको छैन ।














