युक्रेनको द्वन्द्वमा नेटोले भाग लियो : रुसी राष्ट्रपति पुटिन



मस्को, १४ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाएका छन् ।

“उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा सहभागिता हो,” पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भने ।

पुटिनले भने, “यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन् ।”

“पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,” उनले भने ,उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन् ।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहो¥याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताए । “हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,” उनले भने ।

प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार  ८ : २८ बजे