होली पर्व सुरू, हनुमानढोकामा चीर ठड्याइयो



काठमाडौं । काठमाडौं उपत्यकामा फागु पर्व सुरु भएको छ ।बसन्तपुरमा होलीको चीर उठाएसंगै यो वर्षको होली शुरु भएको हो । सोमबार बिहान ७स्४५ मिनेटको शुभ साइतमा रङ्गिबिरङ्गी तीनतले चिर उठाइएको हो । काठमाडौंस्थित हनुमानढोकाको गद्दी बैठक अगाडि तीन तले चीर उठाइएसँगै देश भर होली पर्व शुरु भएको भन्ने मानिँदै आएको छ ।

फागुन शुक्ल अष्टमीका दिन चीर उठाएपछि देशभर फागू पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार ३ तले चीर ठड्याएपछि देशभर फागु अर्थात होली पर्व सुरु भएको मान्ने गरिन्छ ।

सोमबार बिहान ७ बजेर ४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको ३ तले चीर ठड्याएका हुन् । सोही अवसरमा उनीहरूले एक(अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् ।

सोमबार पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक र ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए ।

उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होली पर्व सुरु भएको मानिने बताउनुभयो । उनले भने,( ‘चीरको महत्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत रुपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराईका जिल्लाहरुमा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  ९ : ५५ बजे