इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डनमा वार्ता



अम्मान, १५ फागुन । इजरायली र प्यालेस्टाइनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताको लागि भेट गरेका छन् । वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

यद्यपि वार्ता चलिरहेकै बेला ‘प्यालेस्टाइनी आक्रमण’मा दुई जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी पश्चिमी किनाराको हुवारामा भएको गोलीकाण्डमा दुई इजरायली नागरिकको मृत्यु भएको बताएका छन् ।

जोर्डनको सरकारी प्रसारक अल–मामलकाले रेड सीको रिसोर्ट अकाबामा भएको बैठक ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय सहभागिताका साथ प्यालेस्टाइनी र इजरायलीहरूबीच वर्षौंमा यस प्रकारको पहिलो बैठक’ भएको र यसले ‘प्यालेस्टिनी क्षेत्रको स्थिति’ लाई सम्बोधन गर्ने बताएको छ ।

इजरायली सरकारका एक अधिकारीले नाम नबताउने शर्तमा आफूहरूको प्रतिनिधिमण्डलमा राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बी र शिन बेट घरेलु सुरक्षा निकायका प्रमुख रोनेन बार रहेको जानकारी दिए ।

इजरायली अधिकारीका अनुसार एक महिनाभन्दा कम समयमा सुरु हुने रमजान महिनाभन्दा अगाडि नै यस क्षेत्रमा सुरक्षा तनाव कम गर्ने उपायबारे प्रतिनिधिमण्डलले छलफल गर्नेछन् ।

प्यालेस्टिनी गुप्तचर निकायका प्रमुख माजेद फराज पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  १२ : ५५ बजे