काठमाडौं, फागुन १८ । आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दै छ । नेपालले घरेलु टोली युएईसँग विहान सवा ११ बजे इडन गार्डेन अजमान मैदान दुबईमा एक दिवसीय क्रिकेट खेल्न लागेको हो ।
अहिलेसम्म नेपाल र युएई दुवै अपराजित रहेका छन् । आजको विजेताले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटमा स्थान पक्का गर्ने भएकाले खेल फाइनल जत्तिकै महत्वपूर्ण रहेको छ । नेपाल सन् २०१६ पछि विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ युएई पुगेको छ ।
नेपाली टिम अहिले उच्च लयमा रहेकाले युएईविरुद्धको खेल रोमाञ्चक हुने अपेक्षा भने गरिएको छ । आजको खेलमा जित निकाल्दै नेपाल गत संस्करणको हारको बदला लिने सोँचमा रहेको छ ।
पछिल्लो संस्करणमा नेपाल १ रनले पराजित हुँदा विश्वकपमा छनोट हुन सकेको थिएन । गत संस्करणमा युएईले ५ खेलमा १० अंक जोड्दै विश्वकपमा स्थान बनाउँदा समान खेलबाट नेपाल ८ अंकका साथ दोस्रो स्थानमा रहँदै घर फर्किएको थियो ।














