मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर



फुङ्लिङ, १८ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा र फक्ताङलुङको सहजीकरणमा यही फागुन ८ गतेदेखि सुरु भएको शिविर जारी छ ।

पहिलो दिन घुन्सा स्वास्थ्यचौकीमा ८१ जनाको आँखा जाँच भएकामा दुई जनाको मोतियाबिन्दुको समस्या देखिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविरको दोस्रो दिन ओलाङचुङगोला स्वास्थ्यचौकीमा ७० जनाको आँखा जाँच भएकामा चार जनामा मोतियाबिन्दुको समस्या पाइएको छ । त्यस्तै फागुन १३ गते हान्द्रुङ टार र हान्द्रुङ दुई सय १० जनाको आँखाको परीक्षण गरिएको थियो । फागुन १४ र १५ गते छिरुवामा चार सय ८८ जनाको आँखाको उपचार गरिएको गाउँपालिकाको स्वस्थ्य शाखाले जनाएको छ ।

यस्तै फागुन १६ र १७ गते सिंवा स्वास्थ्यचौकी सिंवा बजारका आठ सय दुई जनाको आँखाको उपचार गरिउको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार आज फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक गाउँमा शिविर सञ्चालन हुनेछ । फागुन १९, २० र २१ गते गाउँपालिकाको केन्द्र तापेथोकमा शिविर सञ्चालन हुने छ । मोतियाबिन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा सञ्चालन हुने शिविरमा शल्यक्रिया गरिने अध्यक्ष लिम्बूले बताए ।

निरन्तर तीन दिनसम्म उकाले ओरालो गर्र्दै कष्टकर पैदल यात्रापछि मात्र घुन्सा पुग्नु सकिन्छ । घुन्सा क्षेत्रमा अहिलेसम्म आँखा शिविर सञ्चालन भएको थिएन । पहिलो पटक तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक टोली नै घुन्सा गाउँमा आएर सर्वसाधारणले आँखा परीक्षण गराउनु पाउँदा स्थानीय खुसी भएको घुन्साका स्थानीय सेराप शेर्पाले बताए । पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा आँखा उपचारमा विशेष योगदान गरेबापत इसा अवार्ड प्राप्त गर्नुभएका वरिष्ठ नेत्र रोेग विशेषज्ञ डा सन्दुक रुइतसहितको टोलीले उपचार गर्ने तय भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : २२ बजे