काठमाडौँ, २५ फागुन ।आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल ४९ दशमलब १ ओभरमा अलआउट हुदैं २९७ रन बनायो ।
जसमा ओपनर आसिफ शेखले शतकीय पारी खेल्दै ११० रन बनाए । यस्तै कुशल भुर्तेल ४५ रनमा आउट भए । यी दुबै ब्याटरबीच पहिलो विकेटका लागि ११० रनको साझेदारी पनि भएको थियो ।
यसका साथै भीम सार्कीले ४४ , कप्तान रोहित पौडेलले ३०, ज्ञानेन्द्र मल्लले ११, करण केसीले ८,आरिफ शेखले ७, सन्दीप लामिछानेले ७ , कुशल मल्लले २, सोमपाल कामीले ४ रन बनाए ।
पीएनजीका सेमो कमियाले ५,राइली हेकुरेले ३ विकेट लिएका छन् ।
नेपालले आज ओडिआई इतिहासकै उच्च स्कोर पनि बनाएको छ । नेपालको हालसम्म ओडिआईमा २८७ रनको उच्च स्कोर थियो । नामिवियासंगको खेलमा नेपालले २८७ रन बनाएको थियो । आज नेपालले उक्त उच्च स्कोर तोडेको हो ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।














