ताप्लेजुङ, २७ फागुन । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो ।
यहाँ बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तजनको समेत बढ्छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक सात सय बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
शनिबार र मङ्गलबारका दिनमा भने दुई हजार बढी भक्तजन पुग्न थालेको समितिको भनाइ छ । गत मङ्गलबार दुई हजार दुई सय ८३ जना भक्तजन पाथीभरा दर्शनका लागि आएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । यहाँ आउने सङ्ख्या दैनिक बढिरहेको उनको भनाइ छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादशैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।
बडादशैँपछि चैतेदशैँ ९रामनवमी०का समयमा धेरै तीर्थयात्री यहाँ आउँछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । यो समयमा काफ्लेपाटी, फेदीलगायतका होटलसमेत खचाखच हुन थालेका छन् ।
तीर्थयात्रीको आगमन बढेसँगै पाथीभरा मन्दिर जाने पदमार्गमा र मन्दिरकै परिसरमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले हेल्थ डेक्स स्थापन गर्ने योजना बनाएको हो ।
पाथीभरा क्षेत्रका होटलमा तीर्थयात्रीलाई खाना, खाजा र बस्नका लागि सहजरूपले सुविधा प्रदान गर्न होटल व्यवसायीसँग छलफलसमेत भएको छ । ताजा र स्वच्छ खाना खुवाउने, चलनचल्तीको भन्दा बढी मूल्य लिन नपाउने निर्णय भएको छ ।
यस्तै सहज यातायातका लागि निजी तथा भाडाका सवारीसाधनलाई काफ्लेपाटीसम्म सहजरूपले आवतजावत गर्न दिने, सवारी चालकलाई अनिवार्य ट्राफिक नियमको पालना गर्न लगाउनेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काफ्लेपाटीमा तीर्थयात्रीको चाप बढेको समयमा बाहिरबाट खाली गाडी झिकाउँदा प्रतिव्यक्ति रु चार सय ५० लाग्ने र चलनचल्तीको रु चार सयसम्म दिन सकिने गरी यातायात व्यवसायीसँग समझदारी भएको छ ।









