मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली



काठमाडौँ, १५ वैशाख । सबै जिल्ला र गाउँमा बिजुली पु¥याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली ९ग्रिड० मा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पु¥याएको हो ।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत् दिन सुरु गरेको छ । योसँगै कर्णाली प्रदेशका दसमध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा विद्युत् पुग्न बाँकी छ । मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिए । “डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ”, उनले भने ।

डोल्पा सदरमुकाम र त्यस आसपासका क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति हुँदै आएकामा अब राष्ट्रिय ग्रिडमार्फत वितरण हुनेछ, साथै जिल्लाभर विद्युत् सेवा विस्तारका लागि विद्युतीकरणको काम भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । डोल्पामा प्राधिकरणका करिब एक हजार सात सय ग्राहक रहेका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४८ बजे