मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर अस्पताल : एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार



चितवन, ५ जेठ । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो । आव ०७५÷७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४÷७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १ : २४ बजे