मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङमा अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे



बागलुङ । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको  बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए । 

“केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौँ, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ ।”

बागलुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएकामा अहिले धमाधम बङ्गुर मर्न थालेपछि किसानलाई रु दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताए । “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो भएको थाहा थिएन, पहिलोपटक बङ्गुर मर्न थाले अहिले मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्”, उनले भने, “दैनिक खोर रित्तिँदै गएपछि मजस्ता किसानको उठिबास लागेको छ ।”

यस क्षेत्रका ५४ किसानले पालेका तीन सय ९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले जानकारी दिए । उनले किसानको समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको बताए । 

किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासि मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १२ : ०४ बजे