मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनाब कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका



सिङ्गापुर, २० जेठ (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेको तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताएका छन् ।

अस्टिनले सङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, “विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् ।“हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्कट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।”

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि उनले यो साता जापानको पनि भ्रमण गरेका थिए । अष्टिनले समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नेछन् ।

शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिबाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफुलाई दुःख लागेको बताए ।

आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ४३ बजे