काठमाडौँ, १ असार . सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।
सङ्घीय, संसद्, प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकृत रुपमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले नेपालले व्यापार असन्तुलनको सामना गरिरहेको अवस्थामा उत्पादित वस्तु र सेवा गुम्दै गएको बताए ।
“नेपालमा आज व्यापार घाटा चुलिएको छ, गत वर्ष मात्रै १९ खर्बको आयात र दुई खर्बको निर्यात भएको छ र १७ अर्ब व्यापार घाटा रहेको थियो, यस वर्षको वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा यो वर्ष पनि झन्डै १२ खर्ब चार अर्ब बराबरको आयातित भएको छ, १ खर्ब ३१ अर्ब बराबरको निर्यात भएको छ”, उनले भने ।










