असार ६ काठमाडौँ । पुरुष साफ च्याम्पियनशिप फुटबलको १४ औँ संस्करणको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३–१ को हार बेहोरेको हो ।
साविक उपविजेतासमेत रहेको नेपाल आमन्त्रित टिम कुवेतसँग शुरुआतदेखि नै दबाबमा खेलेको थियो । नेपालले मध्यान्तरअघि २ तथा मध्यान्तरपछि १ गोल खाएको हो ।
खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालिद हाजिहले हेडरमार्फत पहिलो गोल गरेका थिए । फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेपछि उनले गोल गरे ।
त्यस्तै खेलको ४२ औं मिनेटमा शाबैब अल्खाल्दीले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए ।
६५ औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले गोल गर्दै कुवेतलाई ३–० को अवस्थामा पुर्याए ।
तर ६७ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका भए पनि नेपालले त्यसपछि गोल भने गर्न सकेन ।
आजकै अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् । यो खेल ७ः४५ बजे शुरु हुनेछ ।
अहिलेसम्म नेपाल र कुवेतबीच हालसम्म १० खेल भएकामा ९ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।














