काठमाडौँ, १ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ टिमसंग लज्जास्पद हार व्यहोरेको छ ।
नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२ दशमलब १ ओभरमा १ विकेटको क्षतीमा भेट्टायो ।उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७, साई सुदर्शनले ५८ रन बनाए ।
नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए ।त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९ दशमलब २ ओभरमा १६७ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६५ रन बनाए । यस्तै गुल्शन झाले ३८, देव खनालले १४,सोमपाल कामीले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
३७ रन जोड्दा ५ विकेट गुमेपछि संकटमा परेको नेपाललाई कप्तान रोहित,गुल्शन र सोमपालले केहि समय सम्हालेका थिए ।भारतका निशान्त सिन्धुले ४, राजवर्धन हंगागेकारले ३,हर्षित रानाले २ विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो ।














