काठमाडौ ,१९ साउन । पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारा नजिकै डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सो बारे जानकारी दिएको छ । स्रोतका अनुसार डुङ्गा अत्यधिक भारका कारण पल्टिएको हो । डुङ्गामा ५० भन्दा बढी मानिस सवार थिए ।
नदीबाट सात जनाको शव निकालियो भने धेरै यात्रुले ज्यान जोगाउन सफल भएका थिए ।पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले सम्बन्धित अधिकारीहरूलाई उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।यसअघि उमरकोट जिल्लाको धोरो नारो नजिक कलंकर तालमा डुङ्गा पल्टिँदा कम्तीमा छ जनाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ ।
यसैगरी सेहर फकिर दरबारमा श्रद्धाञ्जलि अर्पण गर्न दश जना चढेको डुङ्गा पल्टिँदा छ जनाको डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी र उद्धार टोलीले पोखरीबाट तीन बालबालिकाको शव निकालेको छ । अन्धकारका कारण उक्त क्षेत्रमा उद्धार कार्य रोकिएको र बेपत्ता भएका तीन जनाको खोजीका लागि बिहान पुनः शुरु गरिने एआरवाई न्युजले जनाएको छ ।