मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडक पाँच दिनपछि खुल्यो



म्याग्दी, ६ भदौ ः मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिए । “कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ”, उनले भने, “चार डोजर, मलगायत आयोजनाका इञ्जिनियर र प्राविधिकहरुको टोली पाँच दिनदेखि खटेर सडक खुलाएका छौँ ।”

सडक खुलेपछि जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध भएपछि दानादेखि नारच्याङको घरापसम्म हिलाम्मे सडकमा कष्टपूर्ण यात्रु पैदलयात्रा गर्न बाध्य भएका थिए । सडक मर्मतका क्रममा गुँइठेको भीरबाट खसेको ढुङ्गाले चोट लागेर सडक विभागका डोजर अपरेटर नारायण गिरी र सवारी चालक सुभाष कुमाल घाइते भएका आयोजना प्रमुख प्रजापतिले जानकारी दिए । 

आयोजना प्रमुख प्रजापति, इञ्जिनियर विष्णु चापागाइँ, सवारी चालक अजय स्याङ्ताङ, सुपर भाइजर इन्द्रसिंह शेरचनसहितको टोली पहिरो पन्छाउने र सडक मर्मतमा परिचालन भएको थियो । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोको जोखिम रहेकाले रातको समयमा र अत्यावश्यक काम नपरी यात्रा नगर्न सूचना प्रकाशन गरेर यात्रुहरुलाई अनुरोध गरेको बताए । 

गत साउन २४ गते बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने बैसरी अँधेरीखोलामा पहिरो खसेर घाइते भएका गाडी चालक अन्नपूर्ण–७ महभीरका ४० वर्षीय लुप्सन शेरपुजाको मृत्यु भएको थियो । 

बैसरीमा १२ दिन अवरुद्ध भएको सडक साउन ३१ गते खुलाइएको थियो । बैसरीको पहिराको समस्या समाधान भए पनि जलथले–दुवारी खण्डमा पहिराले दुःख दिन थालेको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : २६ बजे