काठमाडौ , १० भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले, नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत रहेको दाबी गरेका छन् ।
विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपालमा रहेको बिषय विश्व समुदायलसामू दाबी गरेका हुन् ।त्यस्तै उनले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएको उनको सचिवालयले जनाएको छ ।नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको उनले बताए ।
जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको तर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए ।अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न आग्रह गरेका छन् ।मन्त्री महत विश्व वातावरण सुविधाको ७ औं एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । मन्त्री महतले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका छन् । यसैक्रममा मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्धिपक्षीय बिषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।














