सन्दीपको विदाई गर्दै राखेप सदस्य सचिव घिसिङले भने : अल द बेष्ट



काठमाडौं , ११ भदौ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले सन्दीप लामिछाने सहभागी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पूर्णता पाएको बताएका छन् ।


सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर विदाई गर्दै परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले भने – अल द बेष्ट सन्दीप ।सन्दीपलाई शुभकामना सहित विदाई गर्दै घिसिङले भने ‘देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दीप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो । सुखद परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दीपलाई शुभ यात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द वेस्ट ।’


जवाफमा सन्दीपले सदस्य सचिव घिसिङलाई धन्यवाद दिदैं एसिया कपमा राम्रो गर्ने आशा राखेको बताए ।उनले भने ‘ एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित/हार भन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुशीको पर्व जस्तै हो हाम्रा लागि । ’एसिया कप भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ । त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसंग समूह चरणको पहिलो खेल खेल्ने छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोश्रो खेल भदौ १८ गते भारत विरुद्ध श्रीलंकाको क्याण्डीमा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो ।

प्रकाशित मिति : भाद्र ११, २०८० सोमबार  ५ : ५५ बजे