सेफर भ्याली कन्सेप्ट कार्यान्वयनका लागि सहकार्य जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर



काठमाडौं , १४ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले, नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यसभित्रको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र महानगरबीच सहकार्य आवश्यक भएको बताएका छन् ।


महानगरपालिका काठमाडौंको ३१ औँ नगर प्रहरी दिवसमा शुभकामना दिदै उनले नगर प्रहरीले महानगरको भौतिक पूर्वाधार क्षेत्रमा देखिने गरी काम गरेको समेत बताए ।उनले नेपाल प्रहरीले सुरक्षित महानगरको लागि अघि सारेको सेफर भ्यालीको कन्सेप्ट दुबैको हितमा हुने भन्दै त्यसलाई मिलेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।‘नेपाल प्रहरीले विगतदेखि अघि सार्दै आएको सेफर भ्याली कन्सेप्टको परिकल्पना र त्यस भित्रको सुरक्षा व्यवस्थापनको लागि नेपाल प्रहरी र महानगरपािलका एकजुट भएर अगाडि बढ्न जरुरी छ । हामी हिड्ने मार्ग पृथक होला तर, हाम्रो लक्ष्य एउटै हो । त्यो हो सुरक्षीत महानगर,’ कुँवरले भने ।


उनले महानगरका प्रहरी वलको कार्यले शान्ति सुरक्षालाई व्यवस्थापन गर्न प्रहरीलाई समेत सहयोग पुगेको भन्दै प्रहरीको मनोवलले धेरै कुरा पूरा गर्न सकिने कुरा महानगर प्रहरीले स्पस्ट पारेको बताए । तर, उनले स्थानीय र संघीय सरकारको बीचमा तादम्यता र समन्वयन हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘कताकता समन्वयको कमि भएको हो की भन्ने मलाई लाग्छ । तर, संघीय सरकार र स्थानीय सरकारबीचको अलि माथिल्लो तहको समन्वय गरेर हामी जान सक्यौं भने हामीले महानगरपालिकालाई कायापलट गर्न सक्छौं ।’

प्रकाशित मिति : भदौ १४, २०८० बिहिबार  ४ : ५१ बजे