काठमाडौं , १५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० को उद्घाटन गर्दै मन्त्री बस्नेतले विद्युत विधेयकले उत्पादनको वृद्धि र विद्युतको निर्यातलाई व्यवस्थित गर्न मद्दत पु¥याउँने बताए । उनले मन्त्रिपरिषद्को निर्णय अनुसार यही अधिवेशनबाट विधेयकलाई अन्तिम रुप दिने बताए ।उनले भने, हामी दर्ता गर्दै छौ मन्त्रिपरिषद्ले पनि दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टे हामी विद्युत विधेयक संसदमा पेश गर्छौ यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ ।
विद्युत विधेयकले ऐनको रुप लिएपछि अब उर्जा क्षेत्रमा यसको उत्पादनको वृद्धि गर्नको लागि, प्रशारण लाइनलाई थप विस्तार गर्नको लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउँनको लागि र हामीसँग भएको विद्युतको निर्यातलाई व्यवस्थित गर्नको लागि यसले मद्दत पु¥याउँने छ । यो क्षेत्रको विकास र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ । ’मन्त्री बस्नेतले व्यापार असन्तुलन घटाउँदै र निर्यातको मात्रा बढाउँदै गएको भन्दै छिट्टै नै व्यापारको एउटा सन्तुलन कायम गर्ने योजनाका साथ लागि रहेको बताए ।स्वच्छ वातावरणको लागि विद्युतीय साधनहरुलाई सञ्चालनमा ल्याउँने कुरा सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाइ छ ।














