नेपाली भू–भागको सम्मान गरेर चीनले आफ्नो नक्सा तत्काल सच्याउनु पर्छ : पूर्व सुरक्षाकर्मी परिषद्



काठमाडौं , १५ भदौ । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारतको देखाएको भन्दै आपत्ति जनाएको छ ।


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भागभारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ ।
चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ ।


पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको चर्चा गर्दै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए ।
उनले भने,‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन् ।’


पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए । नेपालमाथि अन्य राष्ट्रबाट आउनसक्ने खतराहरुमा सुरक्षा मित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामा विलय गराउनु आपत्तिजनक रहेको बताए ।

प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार  ४ : ५६ बजे