काठमाडौं , २० भदौ । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्न सम्म पनि नसक्ने बताए ।तर एमाले र एसमाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाई छ ।उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरु बीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए ।’
उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे ।‘राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’उनले एमालेले ७० वर्ष उमेर हद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेर हद भनेको संविधानको धारा २४ को विरुद्धमा भएको टिप्पणी गरे ।
उनले भने, ‘संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ ।’
उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे ।














