काठमाडौं , २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि दिन दहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् ।
थापाले बिहीबार प्रतिनिधि सभा बैठकमा उनले बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रुपमा लिएको भन्दै उनले गृहमन्त्रीले काम गर्ने भन्दा सार्वजनिक खपतका लागि भाषणबाजिमै रमाएको आरोप लगाए ।उनले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिड्न पनि नहुने भएको हो ? कोही जलाइदिन्छु भन्छन् कोहि खुकुरी हान्छन । हामी एक्लै हिड्न हुने होकी नहुने हो ?’त्यस्तै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रुपमा गैरजिम्मेवार रुपमा बोल्दै हिड्ने गरेको भन्दै बोल्ने भन्दा काम गरेर देखाउन सुझाए ।उनले भने, ‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिडेको सुनिरहेको छु । यसलाई छाडिने छैन,यस्तो गरिने छैन् । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न हेर्न चाहान्छौ ।’ उनले थपे ‘काठमाडौंमा संविधान सभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किदा उ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’
त्यस्तै उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजोको भन्दै त्यसलाई सामान्य रुपमा लिन नहुने बताए ।‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई बैध वा जायज ठह¥याउने कोसिस गर्दै छौ यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ गगनले भने ।प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षि रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रुपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए ।उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’














