अस्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना



काठमाडौ , २१ भदौ । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानीजसँगको भेटवार्तामा एशिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताउनुभयो । उहाँले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्र्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन् । सन् २०१६ यता अस्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन । आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकमा भाग लिन इन्डोनेशिया आएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेकापत्रकारहरूलाई बताए।

प्रधानमन्त्री अल्बानिजको यो भनाइ अष्ट्रेलियाको आयातमा चिनियाँ प्रतिबन्धलगायत राजनीतिक एवं आर्थिक मुद्दामा वर्षौंदेखि जारी द्वन्द्वपछि आएको हो । उनले निमन्त्रणाका लागि राष्ट्रपति सीप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री लीसँगको वार्ता रचनात्मक भएको बताए । यद्यपि उहााले दुई देशबीच सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको बताए ।

चीनमा अष्ट्रेलियाली प्रतिनिधिमण्डल

फ्रान्सेली समाचार समिति एएफपीका अनुसार अष्ट्रेलियाले आजै चिनियाँ समकक्षीहरूसँग वार्ता गर्न उद्योग, सरकार, प्राज्ञिक, सञ्चारमाध्यम र कला क्षेत्रका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिमण्डल बेइजिङ पठाएको छ । सन् २०२० देखि रोकिएको दोहोरो संवाद यो भ्रमणबाट पुनः सुरु हुने र दुवै देशबीच सुसम्बन्ध कायम हुने अपेक्षा गरिएको छ ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले गत साताको छलफलले द्विपक्षीय संलग्नता बढाउन र चीनसँगको सम्बन्धलाई स्थिर बनाउन प्रयास गरेको बताएका छन् । अष्ट्रेलियाले विद्युतीय उपकरण उत्पादक चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको र कोभिड–१९ महामारीको उत्पत्तिबारे स्वतन्त्र छानबिनको माग गरेपछि क्याबेराप्रति बेइजिङ आक्रोशित भएको थियो ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ३ : ४१ बजे