नयाँ भनिएका राजनीतिक पार्टी व्यवस्थामाथि नाच्न आएका हुन् : कावा अध्यक्ष श्रेष्ठ



काठमाडौं , २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ आएका कतिपय राजनीतिक दलहरु अहिलेको व्यवस्थामा नाच्न आएको आरोप लगाएका छन् ।


बिहीबार ललितपुरमा आयोजित समाजवादी महिला संगठनको बागमती प्रदेश समिति पुर्नगठन कार्यक्रममा उनले, देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए ।उनले संघीयतापछि आएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत जस्ता नयाँ राजनीतिक दललाई संघर्ष थाहा नभएको र यो व्यवस्थामाथि नाच्न आएको आरोप लगाए ।उनले भने ,‘नयाँ भनिएका रास्वपा, नागरिक उन्मुक्ति, जनमत जस्ता पार्टीहरू अरुले मञ्च बनाई सकेपछि नाच्न आएका हुन् । आफंैले मञ्च बनाउनु पर्दाको पीडाको उनीहरूलाई अनुभव छैन ।

संघीय गणतन्त्र ल्याउनका लागि नेपाली जनताले लोकतान्त्रिक तथा वामपन्थी दलहरूको नेतृत्वमा तीन /तीन पटक जनआन्दोलन, त्याग र बलिदान गरे । यो कुरा नयाँशक्ति भनिएकाहरूलाई थाहा छैन ।’साथै उनले आफ्नै पार्टीले पनि सङ्गठनात्मक काममा देशमा संघीयता लागु गरे जस्तै त्यसलाई पार्टीभित्र पनि कार्यान्वयन गराउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार  ५ : २७ बजे