काठमाडौं , २२ भदौ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउने चेतावनी दिएका छन् ।पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणविरुद्ध काठमाडौंमा आयोजित प्रदर्शनपछिको कोण सभालाई सम्वोधन गर्दै गुरुङले, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।
उनले भने ‘पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।’
कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गरेका गुरुङले कांग्रेसले यो सरकारलाई बोकेर हिड्न नहुने तर्क गरे ।उनले आफ्ना नेता माथिको आक्रमणमा सरकारकै सहभागिताको आशंका गरे ।‘ घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? योआक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।’ उनले भने ‘अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।’उनले गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।‘अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरुलाई यो संविधान र व्यवस्थाको सुरक्ष गर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ ।’














