मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके बस दुर्घटना अपडेट : एउटै वडाका पाँच सहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर



काठमाडौं । बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्द र सहचालक रहेका छन् । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा अन्य ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बस तिव्र गतिमा आएकोले दुर्घटना भएको बुझिएको छ । चार जनालाई नेपालगञ्ज नर्सिङ होममा उपचार भैरहेको छ । चार मध्ये दुई जनाको अवस्था गम्भीर छ ।’
दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको ठाकुरबाबा नगरपालिका–९ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोली चढेको बस बाँकेको शमशेरगन्ज नजिक रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

डिएसपी डाँगीका अनुसार घाइते ९ जनाको अवस्था सामान्य छ । दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । नेपालगञ्ज नर्सिङ होममा उपचार गराईरहेको चार मध्ये दुईको अवस्था गम्भीर रहेको र आइसियुमा उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । डिएसपी डाँगीले बसमा ४० जना सवार रहेको बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : १० बजे