जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ



काठमाडौ, २४ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद ( विपी ) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उहाँकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।

“घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन”, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थिए।विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, “अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।” कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनले बताइन् ।

“घर बनेदेखि विपी यही घरमा बसेका हून”, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी बस्ने गर्नुहुन्थ्यो । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।घरको पहिलो तलामा आराम गरिरहनुभएकी गौरीदेवीले भनिन् “विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।” गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उहाँमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको हो ।

“विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो”, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, “यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।” विपी कतिपटक घरमा आउएका गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भने , “कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उनि यही बस्थे ।”विपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउछिन् । उनले भने, “माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, “विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।” विपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न विपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गरिन् । साँझ विपी भन्नुहुन्थ्यो, “जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।” विपी आउँदा विवाहको घर जस्तै हुने गरेको उनले बताए । थोरै खाने र चिटिक्क परेर हिँड्ने विपीको बानी थियो ।गौरीदेवीले भनिन, “मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।” तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरे। उनले भनिन्, “मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।”

विपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ । उनले भनिन, “कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।” साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, “विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो ।”गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर उहाँ जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ ।

गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि विपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उनि सम्झछन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थी हुने भए पनि उनलाई के हुन्छ भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्यो ।बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुवोधले भने, “विपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उनको निधन हुँदा मेरो दाई सुवासले कपाल खौरिएका थिए।” आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उनलाई ताजै छ । सुवोधले भन्नुभयो, “म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थेँ ।” सबैले विपीलाई निकै मान्ने आफूले पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले विपीलाई देवताजस्तै गरी सम्मान गर्थेँ ।”

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  १० : ०० बजे