पुरानो ढर्राले नयाँ पुस्तालाई समेट्न सकिँदैन : विनोद चौधरी



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले पुराना ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए ।

उनले भने, ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । अहिले सर्वाेच्च अदालतको निर्देशनअनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट्र हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ती ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’

कांग्रेस नेता चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति नयाँ बनाउनुपर्ने बताए । पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।उनले पार्टीमा सङ्घर्ष गरेका, जेलनेल भोगेका नेताहरू सँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान् व्यक्तिहरूलाई पनि अवसर दिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  २ : ५८ बजे